सांघाई — नेपाली मिक्स्ड मार्सल आर्ट्स (MMA) फाइटर रविन्द्र ढाँटले ऐतिहासिक सफलता हासिल गर्दै Road to UFC Season 5 को ब्यान्टमवेट फाइनलमा स्थान बनाएका छन्।

चीनको सांघाईमा शुक्रबार भएको सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डकलाई तीन राउन्डको प्रतिस्पर्धापछि स्प्लिट डिसिजनबाट पराजित गरेका हुन्।

तीनै राउन्डसम्म चलेको निकै प्रतिस्पर्धात्मक खेलमा मर्डकले ग्राप्लिङ र टेकडाउनमार्फत ढाँटमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। ढाँटले भने आफ्नो विस्फोटक स्ट्राइकिङ, शारीरिक क्षमता र प्रभावशाली प्रहारका माध्यमबाट खेलमा बलियो चुनौती प्रस्तुत गरे।

विशेषगरी तेस्रो राउन्डमा ढाँटले आक्रामक प्रदर्शन गर्दै मर्डकमाथि लगातार प्रभावकारी प्रहार गरेका थिए। निर्धारित तीन राउन्डपछि विजेताको निर्णय जजहरूको स्कोरकार्डबाट गरिएको थियो, जसमा ढाँटले स्प्लिट डिसिजनमार्फत ऐतिहासिक जित हात पारे।

यस सफलतासँगै ‘बझाङको बाघ’ उपनामले परिचित ढाँट Road to UFC प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।

अब र्यो ताजिमासँग उपाधि भिडन्त

रविन्द्रले Road to UFC Season 5 को ब्यान्टमवेट फाइनलमा जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले अर्को सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

फाइनलमा जित हासिल गर्न सके ढाँटका लागि विश्वप्रसिद्ध मिक्स्ड मार्सल आर्ट्स संस्था UFC सँग बहु–फाइट व्यावसायिक सम्झौता प्राप्त गर्ने बाटो खुल्नेछ। यस अर्थमा उनी UFC सम्झौताबाट अब केवल एक जित टाढा छन्।

फाइनल खेलको मिति र स्थान भने UFC ले अहिलेसम्म आधिकारिक रूपमा घोषणा गरेको छैन।

जितपछि नेपाललाई सम्झिए रविन्द्रले

ऐतिहासिक जितपछि ढाँटले नेपालमा बाढी र पहिरोका कारण उत्पन्न कठिन अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पीडितहरूको सहयोगका लागि समर्थकहरूलाई आग्रह गरे।

उनले भने, “अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइरहेको छ। बाढी र पहिरोका कारण—प्लिज, आ–आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग गरिदिनुहोला।”

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता प्राप्त गरेका ढाँटले आफ्नो जित कठिन परिस्थितिको सामना गरिरहेका नेपालीहरूलाई समर्पित गरेका छन्।