चीनको तिब्बत क्षेत्रमा परेको भीषण वर्षापछि भोटेकोशी नदीमा आएको ठूलो बाढी त्रिशूली नदीसम्म पुगेपछि रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।
बाढीका कारण त्रिशूली नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि सुरक्षा निकाय परिचालन गरी जोखिमयुक्त क्षेत्रका केही स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको थियो। पछिल्लो विवरणअनुसार पानीको बहाव घट्दो क्रममा रहे पनि जोखिम पूर्ण रूपमा हटिनसकेको भन्दै स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सर्वसाधारणलाई नदी हेर्न किनारमा नजान, माछा मार्ने प्रयास नगर्न तथा बगेर आएका काठ–दाउरा टिप्न नजान विशेष चेतावनी दिएको छ। बालबालिका, ज्येष्ठ नागरिक र पशुचौपायालाई नदीबाट टाढा सुरक्षित स्थानमा राख्न पनि अनुरोध गरिएको छ।
आपत्कालीन अवस्था देखिएमा स्थानीय प्रशासन, नेपाल प्रहरी वा सम्बन्धित स्थानीय तहसँग तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।

